राणा शासन अन्त्य भएपछिको झन्डै सात दशकको राष्ट्रिय राजनीतिमा काँठबाट जोगमेहर श्रेष्ठ, जगन्नाथ आचार्य र महेश बस्नेत मन्त्री बनेको सम्झँदा कृष्णभक्तको मन कटक्क खान्छ । ‘काँठ अब बदलिनुपर्छ,’ उनी भन्छन्, ‘आफ्नो नेतृत्व आफैं नगरे सधैं नै पछौटे भइरहनेछ ।’ काँठका अधिकांश गाउँमा नियमित सार्वजनिक यातायात समेत छैनन् । ‘बाटो बनाउने र गाडी चलाउनेलाई हो हाम्रो भोट,’ दधिकोटको तर्खगालस्थित चिया पसलका युवाहरू बिहीबार आपसमा गफिइरहेका थिए, ‘विकास नगर्ने नेतालाई हामी अब मान्दैनौं ।’
पूरै मुलुक चुनावी उत्सवमा झुमिरहेका बेला राजधानी उपत्यकाको काँठ क्षेत्रमा भने चुनावी पारो उति साह्रो उक्लिएको छैन । न त प्रतिबद्धताको पोको बोकेर उम्मेदवार पुगेका छन् न मतदाता शिक्षा कार्यक्रम लिएर सरकारी कर्मचारीहरू नै । स्थानीयहरूले रेडियो, टीभी र पत्रपत्रिकाबाट चुनावको गर्मी महसुस गरेका छन् । सामाजिक सञ्जालहरूको भूमिका पनि उत्तिकै प्रभावकारी बनेको छ । उम्मेदवारको राजनीतिक पृष्ठभूमिभन्दा पनि उनीहरूले अघि सार्ने विकासका मुद्दा र नियतप्रति स्थानीयहरूको बढी चासो छ ।
राजधानी सहरबाट केही किलोमिटरको दूरीमा रहेर पनि काँठ क्षेत्रका बाटाघाटा दूरदराजका जस्ता लाग्छन् । भूकम्पपछि घरआँगनमै भएका पानी मूलहरू पनि सुकेका छन् । जसका कारण जीवन थप कष्टकर बन्दै गएको छ । विगतका चुनावमा उम्मेदवारहरूले बाटोघाटो र पानीको सुविधा पुर्याउने प्रतिबद्धता नगरेका होइनन् । तर, ती प्रतिबद्धता चुनावी कोलाहलमै हराउन पुगे । यसले स्थानीयहरूमा चुनावप्रति नै वितृष्णा जगाउने काम गरेको छ । तिनैमध्येकी हुन्, ललितपुर, लुभुकी करुणा घिमिरे । ‘मलाई त भोट हाल्न जान पनि मन छैन । तर, अरूले कर गर्छन् । चुनावको बेला ठूलाठूला कुरा गर्छन् । पछि कसैले पनि ती कुरालाई चासो दिँदैन,’ घिमिरेले भनिन्, ‘जसले जिते पनि हुनेवाला केही छैन । आफ्नो हकअधिकार हो भनेर मात्र भोट हाल्न जाने हो ।’ मतदाता शिक्षा र चुनावको प्रचारप्रसारप्रति राज्यका निकायहरू उदासीन भए पनि कस्तो उम्मेदवारलाई मत दिने भन्नेमा भने मतदाता सजग देखिन्छन् । उनीहरूमा पार्टी विशेष र सिद्धान्तप्रति खासै चासो देखिँदैन । यसअघिका निर्वाचित प्रतिनिधिहरूले आफ्ना प्रतिबद्धता पूरा नगरेका कारण पूरै मतदान प्रक्रियाप्रति उदासीन रहे पनि सँगै ‘गुलिया’ आश्वासनमा अलमलिन हुन्न भन्ने चेतना भने विकास भएको छ । ‘जितेकाले केही गर्छन् भन्ने त बच्चादेखि बुढापाकासम्मले पत्याउँदैनन् । त्यसैले मात्र भोट हाल्न गयो अनि फर्कियो,’ घिमिरेले भनिन्, ‘तर, मीठा कुरा गर्नेलाई भन्दा पनि जसले काम गर्छ जस्तो लाग्छ त्यसलाई नै भोट दिनुपर्ला ।’
खुमलटारस्थित पशु प्रजनन कार्यालयमा सुब्बाबाट सेवानिवृत्त थापागाउँ, गोदावरीका शिवराम केसी, ६४ को प्राथमिकतामा पनि विकास नै छ । बाटोघाटो, अस्पताल, पाटीपौवा, पानी, स्कुलको सुविधा, वृद्धहरूलाई सेवा जसले उपलब्ध गराउँछ त्यसैलाई छान्ने केसीले बताए । यी सबै काम स्थानीय तहले गर्ने भन्ने केसीलाई हेक्का छ । तर, माथिका सांसदहरूले पहल नगरिदिने हो भने स्थानीय तहबाट मात्र यी सबै काम हुन नसक्ने केसीको तर्क छ । ‘बाउले नगरे छोराले गर्छ, बाउ आफैंले गरेपछि छोरालाई अह्राउन सक्ने हो, त्यसपछि छोराले नगरेर सुख ?’ केसीले भने, ‘सांसदहरूले नै पहल गर्नुपर्छ विकासका लागि ।’
यस भेगको सबैभन्दा ठूलो समस्या भनेकै बाटोघाटो, पानी र यातायात छ । सामुन्नेको धूलो सडक देखाउँदै केसीले आक्रोश पोखे, ‘दसैंअगाडि नै पिच हुनुपर्ने सडक, अहिले पनि उस्तै छ ।’ अस्पताल जाँदा बुढापाकाले लाइन बस्न नपर्ने व्यवस्था हुनुपर्ने केसीको तर्क छ । यी मुद्दा त सांसदले भन्दा पनि स्थानीय तहले पो सम्बोधन गर्छ भन्ने प्रश्न गर्दा, ‘माथिबाट अनुगमन हुने हो भने यस्तो अचाक्ली भाउ नै हुँदैन, त्यो गराउने त सांसदले नै हो,’ केसीले जवाफ दिए, ‘त्यसैले जसले काम गरेन त्यसलाई चुनावमा हुत्याउने हो । सिद्धान्त, पार्टी र झन्डा समात्ने दिन गए ।’ विकाससँगै जनताको जीवन सहज बनाउन पनि सांसदहरूले भूमिका खेल्नुपर्ने केसीले बताए । ‘गोलभेंडाको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । तर, किसानले मोल पाएका छैनन्,’ केसीले भने ।
गोदावरी नगरपालिकाअन्तर्गतको बडिखेल ४, घट्टेकुलोमा दस वर्षदेखि चिया पसल चलाउँदै आएका छन् कुमार तिमिल्सिनाले । उनको पसल त्यस भेगका लागि राजनीतिक चियोचर्चा गर्ने गतिलो अड्डाका रूपमा चिनिन्छ । स्थानीयबीचको भेटघाटदेखि राजनीतिक कार्यकर्ताहरूको जमघटको केन्द्र हो उनको पसल । उम्मेदवार चयनको विषयमा तिमिल्सिना प्रस्ट देखिन्छन् । ‘न त खोक्रा आश्वासन न खसीकोको जस्तो मतको मोलमोलाइ, ती सबैका दिन गए,’ तिमिल्सिनाले भने, ‘राजनीतिक नाराभन्दा पनि विकासकै मुद्दालाई जसले विश्वसनीय ढंगले अगाडि सार्छ, त्यही उम्मेदवार र पार्टी रोजाइमा पर्छ ।’
महालक्ष्मी नगरपालिका, लामाटारकी जमुना चौलागाईंलाई उम्मेदवार र तिनका घोषणापत्रका कुरा त पर जाओस् केको चुनाव भन्ने समेत पत्तो छैन । न त कोही बताउन नै आएको छ । मंसिर २१ मा भोट हाल्ने मात्र थाहा छ उनलाई । तर, चुनाव आएसँगै बाटोघाटो र खानेपानीको अवस्थामा केही सुधार आउँछ कि भन्ने झिनो आशा जमुनालाई पनि छ । उनको चासो अस्वाभाविक पनि होइन । ललितपुरको लुभु भेगका स्थानीयले विगत लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएका छन् । राजधानीसँगै जोडिएको भए पनि दुर्गम जिल्लाका गाउँमा जस्तै पानीका लागि लामो पालो पर्खनुपर्ने बाध्यता छ । ‘बाटो बनाउने र पानी ल्याउनेलाई भोट दिने हो । अरू के पो चाहिन्छ र हामीलाई ?’ जमुनाले सुनाइन् ।
बाटोघाटो र खानेपानीका मुद्दा प्रदेश र केन्द्रको भन्दा पनि स्थानीय तहका हुन् भन्ने गोदावरी नगरपालिका ४ का ६५ वर्षीय साधुराम आचार्यलाई राम्रैसँग हेक्का छ । तर, केन्द्रमा जाने सांसदहरूको निर्देशनकै भरमा स्थानीय तह चल्ने हुँदा आउने चुनावमा पनि विकासको एजेन्डालाई कसले गतिलोसँग उठाउँछ त्यसैलाई मत दिने केसीको तर्क छ । पञ्चायतकालदेखि नै मत खसाल्दै आएका आचार्यलाई पार्टी र तिनका नाराप्रति खासै चासो छैन । ‘मुख्य कुरा कसले काम गर्ला जस्तो छ त्यसैलाई छान्ने हो । पार्टीभन्दा पनि व्यक्तिलाई छानिन्छ’ आचार्यले भने, ‘बाटाघाटो बनाउने, पानीको व्यवस्था जसले सहज बनाउँछ उसैलाई मत दिने हो ।’ आगामी चुनावमा मत पाउनेले प्रतिबद्धताअनुसार विकास नगरेको खण्डमा अर्को पटक कुनै हालतमा त्यो उम्मेदवारलाई मत नदिने भन्दै आचार्यले अडान सुनाए ।










