‘कहाँबाट कसरी त्यो बेला यो बिरानो ठाउँमा आइयो, अहिले सम्भिँmदा अचम्म लाग्छ,’ बाआमासहित २३ वर्षको उमेरमा यहाँ पुगेका गुरुङले भने, ‘अहिले र उहिलेको दोधारा आकाश र धर्तीजस्तो छ । जंगल फाँडेर बसेको बस्ती गुल्जार मात्र बनेको छैन, ठाउँठाउँमा बाटो–घाटो र विद्यालय खुलेका छन् । चुनावमा पनि यतैका मतदाता निर्णायक बन्न थालिसके ।’
जिल्लाको क्षेत्र ३ अन्तर्गत पर्छ, महाकालीपारिको दोधारा–चाँदनी । सुविधा थपिँदै गए । आवादी बढ्यो । हरेक चुनावमा उम्मेदवार दलबलसहित यहाँ पुग्छन् । निर्णायक ठाउँ भएकाले मतदातालाई अनेक आश्वासन दिन्छन् । तर, जितेपछि फेरि नफर्किने गरेको स्थानीयको गुनासो छ । महाकाली र जोगबुडा नदीमा पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग दोहोर्याउँदै आएका छन् । ‘पक्की तटबन्ध निर्माणपछि यहाँका बासिन्दा वर्षायाममा ढुक्कसँग निदाउन सक्थे,’ गुरुङले भने । यसअघि महाकाली किनारको केही क्षेत्रमा तटबन्ध निर्माण भए पनि त्यो पूर्ण नभएको र अहिले जीर्णसमेत बन्दै गएको छ ।
‘भोट माग्दै हिँडेका उम्मेदवारसँग हाम्रो पहिलो माग नै तटबन्ध हो,’ गुरुङले भने, ‘महाकालीमा बन्न लागेको पक्की पुल पनि निर्धारित समयमै पूरा गरेर दोधारा चाँदनीलाई बाँकी नेपालसँगको सडक यातायातसँग जोड्नुपर्यो ।’ उनी २०२५ देखि वडा सदस्य, वडाध्यक्ष हुँदै उपप्रधानपञ्चसम्म भए । वर्षायाममा रूखमा चढेर रात काटेका सम्झना ताजै छन् । त्यही भएर भेट्न आउने उम्मेदवारसँग उनी जोगबुढा र महाकाली नदीमा पक्की बाँधको मुद्दालाई जोडतोडका साथ राख्ने गर्छन् ।
‘हिउँद लागे यहाँ बस्न मन लाग्थ्यो, वर्खामा कसरी बस्ने भन्ने चिन्ता हुन्थ्यो,’ उनले भने, ‘अहिले पहिलाकै अवस्था नभए पनि बाँध पुरानो भएर बेला–बेला भत्किन्छ । महाकाली नदी बस्तीमा पसेर धन–जनको क्षति हुन्छ ।’ जोगबुढा नदीले पनि यसरी नै दु:ख दिइरहेको छ । हिउँदमा समेत कटान गर्छ । भारतले शारदा नहरको पानी जोगबुढा नदीमै छाड्ने गरेकाले हिउँदमा समेत कटान हुने गरेको हो ।
‘महाकाली किनारै किनार पक्की तटबन्धसँगै कालोपत्रे सडक बनाए मात्रै ढुक्कसँग बस्न सकिने अवस्था आउँछ,’ अर्का स्थानीय रामबहादुर श्रेष्ठले भने, ‘नेताहरूसँग बारम्बार भनिरहेका छौं ।’ पक्की तटबन्धसँगै भारु साट्नका लागि सटही केन्द्र वा बैंक स्थापनाको माग पनि स्थानीयले राखेका छन् । द्वन्द्वकालमा छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । अझै पुन:स्थापना हुन सकेको छैन । दैनिक आवश्यकताका वस्तु किनमेलदेखि औषधि उपचारका लागि भारत धाउनैपर्ने बाध्यता ज्युँका त्युँ छ । सीमावर्ती बजार जाँदा भारु आवश्यक पर्छ । हजार नेपाली नोट सटही गर्दा भारु ५ सय वा साढे ५ सयमा मात्रै चलाउने गरिन्छ । ‘कम्तीमा भारु नेरु सटहीको व्यवस्था त गर्नुपर्यो,’ श्रेष्ठले भने ।
एउटै वडाका उम्मेदवारबीच प्रतिस्पर्धा
अरू बेला खासै भीडभाड हुँदैन । चुनावका बेला यहाँ बेग्लै रौनक देखिन्छ । यसपटक क्षेत्र ३ को प्रदेश सभा (ख) का लागि वाम र लोकतान्त्रिक गरी दुवै गठबन्धनले स्थानीयलाई उम्मेदवार बनाएका छन् । त्यसैले पनि माहोल बढी तातेको छ । लोकतान्त्रिकबाट कांग्रेसका बेलबहादुर राना र वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार चुनावी प्रतिस्पर्धामा छन् । दुवैजना साबिकको दोधारा गाविसका पूर्वअध्यक्षसमेत हुन् । अहिलेको महाकाली नगरपालिका ७ मै दुवैजनाको घर छ ।
लामो समय कांग्रेसकै राजनीति गरेका राना र सुनार महाकालीपारिका चर्चित व्यक्तित्व हुन् । प्रदेशसभाका लागि एउटै वडाका व्यक्तिलाई उम्मेदवार बनाउँदा यहाँका मतदाता कसलाई भोट दिने भनेर अन्योलमा छन् । महाकालीपारिको क्षेत्रबाट मुख्य दलले उम्मेदवार बनाएको यो पहिलो पटक हो । ‘एउटै वडाका दुईजनालाई लडाएर माथिकाले खेलवाड गरेका छन्,’ गुरुङले भने, ‘अब यहाँका बासिन्दाले एकआपसमा मिलेरै काम गर्नेलाई जिताएर पठाउनुपर्छ ।’
महाकाली नदीवारि भीमदत्त नगरपालिकाका ७ वडा र महाकाली नगरपालिकालाई क्षेत्र ३ को प्रदेश (ख) मा राखिएको छ । महाकाली नगरपालिकामा २२ हजार ३ सय १५ र भीमदत्त नगरपालिकामा २२ हजार ५ सय ५३ मतदाता छन् । दुवै उम्मेदवार महाकालीपारिका भएकाले उनीहरूका लागि निर्णायक भीमदत्त नगरपालिका क्षेत्र रहने अनुमान छ । महाकालीवारिका मतदातालाई जसले रिझाउन सक्छ उसकै पक्षमा परिणाम आउने आकलन छ । स्थानीय तहको नतिजाअनुसार महाकाली नगरपालिकामा लोकतान्त्रिक गठबन्धन अगाडि छ । महाकाली वारिको भीमदत्त नगरपालिका क्षेत्रमा वाम गठबन्धन अगाडि छ ।
जहिल्यै निर्णायक
बहुदल आएपछि हालसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा दोधाराचाँदनी क्षेत्र निर्णायक रहँदै आएको छ । यहाँका मत जसले तान्न सक्छ, उसैले जित निकालेका थुप्रै उदाहरण छन् । त्यही भएर हरेक निर्वाचनमा उम्मेदवारहरू यहाँका मतदाता रिझाउन अनेक हतकन्डा अपनाउने गर्छन् । विकासका अनेक आश्वासनदेखि आर्थिक प्रलोभनसम्म दिने गरेको पाइन्छ । प्रतिनिधिसभाको क्षेत्र ३ का लागि यसपटक पनि महाकाली नगरपालिका नै निर्णायक हुने देखिन्छ । वेदकोट नगरपालिकाको ८ नम्बर वडासँगै भीमदत्त र महाकाली नगरपालिका मिलाएर बनाएको क्षेत्र ३ मा कुल मतदाता ८७ हजार १ सय २२ मध्ये २२ हजार ३ सय १५ मतदाता महाकाली नगरपालिकामा छन् । भीमदत्तमा ६२ हजार ४ सय ५४ र वेदकोट ८ मा २ हजार ३ सय ५३ मतदाता छन् ।
प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश लेखक र वाम गठबन्धनबाट एमालेका दीपकप्रकाश भट्ट दुवै महाकालीवारिका भएकाले पारिको मत निर्णायक हुने देखिन्छ । लेखक यसअघि दुई पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका छन् । भट्ट यहाँका मतदाताका लागि नयाँ अनुहार हुन् । त्यही भएर दुवै उम्मेदवारले महाकालीपारिका मत कसरी तान्ने भनेर कसरत थालिसकेका छन् ।
No comments:
Post a Comment